बिपी राजमार्ग अब आधा घण्टामै खुलाउने तयारी, पुनर्निर्मित ट्र्याकबाट छिट्टै सवारी सञ्चालन

1.1k Shares

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोबाट क्षतिग्रस्त बनेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै अब वर्षायाममा सडक अवरुद्ध भए पनि आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाट पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ। कार्यालयले वर्षायाममा सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरोध भए पनि तत्काल आवश्यक उपकरण परिचालन गरेर आधा घण्टाभित्र यातायात सुचारु गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार अधिकांश सडकखण्ड पुरानै ट्र्याकमा पुनर्निर्माण भइसकेको छ। यसअघि रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाउने गरेकाले वर्षा हुनेबित्तिकै सडक अवरुद्ध हुने समस्या थियो। अहिले भने स्थायी ट्र्याक निर्माण गरिएकाले यस्तो समस्या न्यून हुने अपेक्षा गरिएको छ।

हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ। चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको छ। ती स्थानमा ग्राभेल बिछ्याउने तथा ठूला ढुङ्गा राखेर सडकलाई सुरक्षित बनाउने काम भइरहेको कार्यालयले जनाएको छ।

गत वर्षको असोजमा आएको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि सञ्चालनका लागि बनाइएका अस्थायी डाइभर्सनहरू पनि पटकपटक बाढीले बगाउँदा यातायात प्रभावित हुँदै आएको थियो।

राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरिएको छ। तीमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा निर्माण भइरहेको छ। उक्त खण्डमा माटो भर्ने र ठूला बोल्डर राख्ने काम जारी छ।

पुनर्निर्माणपछि सडक दुई लेनको बनाइनेछ। हाल सञ्चालनमा रहेको पुलसँगै नयाँ पुल निर्माण गरिने तथा पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ। क्षतिग्रस्त २९.५ किलोमिटर सडकमध्ये ३.२ किलोमिटर सडक पुनर्निर्माणका लागि जाइकालाई करिब दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी भइसकेको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएको १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास (बिपी) राजमार्ग पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने प्रमुख वैकल्पिक मार्गका रूपमा परिचित छ।

 
 
सम्बन्धित समाचार