काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी अघि बढेको छ। आयोजनाबाट उत्पादन हुने करिब ४६.८ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न १३२ केभी क्षमताको नयाँ प्रसारण लाइन निर्माण गरिने भएको हो।
प्रस्तावित प्रसारण लाइन भेरी–बबई आयोजनाबाट नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनसम्म जोडिनेछ। यसका लागि करिब १.७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ।
प्रसारण लाइनमा नौवटा टावर रहनेछन्। तीमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रभित्र र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछन्। लाइनको 'राइट अफ वे' १८ मिटर रहने भएकाले सुर्खेतको भेरीगंगा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्जको केही क्षेत्र प्रभावित हुने देखिएको छ। यही कारण आयोजना अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रक्रिया अघि बढाइरहेको छ।
भेरी–बबई डाइभर्सन आयोजना नेपालकै महत्वाकांक्षी बहुउद्देश्यीय आयोजनामध्ये एक हो। यसअन्तर्गत भेरी नदीको पानी करिब १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा पुर्याइनेछ। त्यसबाट बाँके र बर्दियाका झन्डै ५१ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। साथै सोही पानीबाट ४६.८ मेगावाट विद्युत् उत्पादन गरिनेछ।
आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने अहिले सिभिल संरचना, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल उपकरण जडानको काम जारी छ। हालसम्म आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत पुगेको छ। बाँकी निर्माण सम्पन्न गर्न अझै करिब तीन वर्ष लाग्ने आयोजना पक्षको अनुमान छ।
केही दिनअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले आयोजनास्थलको निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिएका थिए। अब विद्युत् उत्पादनसँगै त्यसलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने पूर्वाधार पनि समानान्तर रूपमा अघि बढाउने तयारी गरिएको छ।