बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएका नेता–कार्यकर्ताले रुपन्देहीमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन गर्दै ४५ सदस्यीय जिल्ला समिति गठन गरेका छन् ।
बुटवलमा सम्पन्न भेलाले विष्णु तिवारीको संयोजकत्वमा जिल्ला समिति गठन गरेको हो। भेलाले केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।
यसअघि पार्टीका स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्कालगायतका नेताहरूलाई पार्टीबाट निष्कासन गरेपछि ३० भन्दा बढी नेता–कार्यकर्ता विप्लव नेतृत्वको पार्टीबाट अलग भएका थिए । उनीहरूले नयाँ संगठन निर्माणमार्फत कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्ने उद्देश्यसहित नेकपा पुनर्जीवित गरिएको बताएका छन् ।
भेलाले विभिन्न पालिका र क्षेत्रका इन्चार्ज तथा सचिवसमेत चयन गरेको छ। सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी जिल्ला कार्यालयले नै सम्हाल्ने निर्णय गरिएको छ भने जनवर्गीय संगठनहरूको जिम्मेवारी पनि बाँडफाँट गरिएको जनाइएको छ ।
कार्यक्रममा पार्टीका कार्यालय सदस्य भेषराज भुषाल, वसन्त श्रेष्ठ, केन्द्रीय सदस्य जया पौडेललगायत नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै जनपक्षीय राजनीतिक शक्ति निर्माण गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले संगठन विस्तार, वैचारिक स्पष्टता र जनआधारित आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।