काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’ले करिब नौ वर्षपछि फेरि मानव बस्तीमा आक्रमण गर्दै आमा–छोराको ज्यान लिएको छ। यससँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।
शनिबार राति चितवनको भरतपुर महानगरपालिका–२३ मा जंगलबाट बस्ती पसेको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। घरभित्रै भएको आक्रमणमा दुवैको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष दीपक दवाडीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।
हात्ती धपाउने प्रयासमा आशिकाका श्रीमान्ले आगो बाल्न खोज्दा घरसमेत जलेर नष्ट भएको बताइएको छ। आक्रमणपछि ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको जनाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मानवहत्या गर्ने हात्तीका रूपमा परिचित ध्रुवेले २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको थियो। २०६९ सालमा माडी क्षेत्रमा लगातार चार जनाको ज्यान लिएपछि तत्कालीन प्रशासनले ध्रुवेलाई मार्ने निर्णयसमेत गरेको थियो। नेपाली सेनाको टोली परिचालन गरिए पनि ध्रुवे नियन्त्रणमा आउन सकेन।
पछि केही वर्ष हराएको ध्रुवे पुनः चितवन क्षेत्रमा देखिन थालेको थियो। यसको गतिविधि निगरानी गर्न घाँटीमा रेडियो कलर जडान गर्ने, दाह्रा काट्ने तथा उत्तेजना कम गर्ने औषधिसमेत प्रयोग गरिएको थियो। पछिल्ला केही वर्ष शान्त देखिएको ध्रुवेले २०७४ सालमा नेपाली सेनाका एक मेजरको ज्यान लिएपछि अहिले पहिलोपटक फेरि मानवहत्या गरेको हो।