कम्युनिस्ट एकता र सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड
2.7k
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिबीच सकेसम्म चाँडो एकता र कार्यगत सहकार्य आवश्यक रहेको बताएका छन् । उनले सहकार्यमा ढिलाइ गर्नु ऐतिहासिक गल्ती हुने भन्दै साझा उद्देश्यका लागि कम्युनिस्टहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले तत्काल पार्टी एकता गरिहाल्ने पक्षमा आफू नरहेको स्पष्ट पारे। तर, कार्यगत सहकार्य भने आजैदेखि सुरु गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
उनले केही नेताहरूले पार्टी एकताको विषयलाई सही ढंगले नबुझेको टिप्पणी गर्दै सहकार्य आज सम्भव भए आजै, साँझ सम्भव भए साँझै र भोलि सम्भव भए भोलिबाटै सुरु गर्न तयार हुनुपर्ने धारणा व्यक्त गरे। मिलेर अघि बढे मात्रै कम्युनिस्ट आन्दोलनले सफलता हासिल गर्न सक्ने उनको विश्वास थियो।
प्रचण्डले वर्तमान सरकारमाथि संविधानका आधारभूत मूल्य–मान्यता र उत्पीडित समुदायका अधिकारमाथि प्रहार गर्न खोजेको आरोप लगाए। संविधानका मूलभूत सिद्धान्तमाथि आक्रमण सुरु भइसकेको दाबी गर्दै उनले त्यसको प्रतिरोधका लागि कम्युनिस्ट शक्तिको बलियो र संगठित उपस्थिति आवश्यक रहेको बताए ।
विश्वभर कम्युनिस्ट शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले छिमेकी भारतको उदाहरण प्रस्तुत गरे । नेपालमा पनि प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने योजनाअन्तर्गत गतिविधि गरिरहेको उनको दाबी थियो । उनले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन तथा २१ फागुनको निर्वाचनलाई समेत कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने योजनाकै हिस्सा भएको आरोप लगाए ।
राष्ट्रिय स्वाधीनताको रक्षा, निरंकुश प्रवृत्तिको अन्त्य तथा वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध देशभक्त कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको प्रचण्डले बताए । विचार मिल्ने शक्तिहरूले एकता र सहकार्यमा ढिलाइ गरे मुलुकले ठूलो राजनीतिक दुर्भाग्य व्यहोर्नुपर्ने चेतावनी पनि उनले दिए ।
उनले जननेता मदन भण्डारीप्रति सच्चा सम्मान प्रकट गर्ने सबैभन्दा उपयुक्त माध्यम कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्य भएको उल्लेख गर्दै हालसम्म प्राप्त राजनीतिक उपलब्धिको रक्षा र लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्न सबै कम्युनिस्ट घटक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा विशेष जोड दिए ।