जेन–जी आन्दोलनपछि पहिलो पटक एउटै मञ्चमा चार वामपन्थी पूर्वप्रधानमन्त्री

1.9k Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि पहिलो पटक चार जना वामपन्थी पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका छन्। मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेकपाका नेता झलनाथ खनाल एकै मञ्चमा सहभागी भएका हुन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोहमा चारै नेताले कम्युनिस्ट आन्दोलन, वाम एकता र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनात्मक नाराले मात्र कम्युनिस्ट एकता सम्भव नहुने बताउँदै सबै कम्युनिस्ट शक्तिले आत्ममन्थन र आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। विगतका गल्तीहरूको वस्तुनिष्ठ समीक्षा गरेर साझा निष्कर्षमा पुग्न सके मात्रै कम्युनिस्टहरूबीच दिगो एकता सम्भव हुने उनको भनाइ थियो। उनले तत्काल सबै कम्युनिस्ट पार्टीहरू एक हुने अवस्था भने नदेखिएको पनि बताए।

त्यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले वामपन्थी एकतालाई अपरिहार्य बनाएको धारणा व्यक्त गरे। विगतका कमजोरीकै कारण वाम शक्तिहरू विभाजित भएको उल्लेख गर्दै उनले अब त्यसबाट शिक्षा लिएर दीर्घकालीन वाम एकताको अभियान अघि बढाउनुपर्ने बताए। देशमाथि वैदेशिक साम्राज्यवादी शक्तिहरूको प्रभाव बढिरहेको दाबी गर्दै उनले त्यसको सामना गर्न पनि कम्युनिस्टहरूबीचको एकता आवश्यक रहेको धारणा राखे।

मदन भण्डारी फाउण्डेशनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जेन–जी आन्दोलनपछि चार प्रमुख वामपन्थी पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिनुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। पछिल्ला दिनमा वाम एकताको चर्चा भइरहेका बेला उनीहरूको साझा उपस्थितिले सम्भावित राजनीतिक सहकार्यबारे नयाँ बहससमेत सुरु भएको छ।

 
 
सम्बन्धित समाचार