प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा मृत्यु भएको छ । ५० वर्षीय रानामगरले आफैं चलाइरहेको लु प्र १/००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला क्षेत्रमा सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माले जानकारी दिनुभयो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक विश्वकर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।