काठमाडौं । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गर्न लागेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयपछि एकै मञ्चमा देखिने भएका छन्।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रम आइतबार राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ। कार्यक्रममा ओली र प्रचण्डले समसामयिक राजनीतिक तथा कम्युनिस्ट आन्दोलनका विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनका कार्यवाहक सचिव डा. भेषराज अधिकारीका अनुसार कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नेछन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अध्यक्ष ओली कार्यक्रममा सहभागी हुने पुष्टि गर्नुभएको छ। यस्तै, प्रचण्डका सहयोगी गोविन्द आचार्यले पनि संयोजक प्रचण्डको उपस्थितिको समय तय भइसकेको जानकारी दिनुभएको छ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहनेछ। साथै, मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ कृतिका लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने कार्यक्रम पनि रहेको छ।