प्रदेश सभा खारेजीको विपक्षमा अमरेश सिंह, लोकतन्त्रसँग खेलबाड नगर्न चेतावनी
1.5k
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले पार्टीको प्रथम महाधिवेशनबाट पारित प्रदेश सभा खारेज गर्ने नीतिप्रति असहमति जनाएका छन्। उनले लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
रास्वपाको प्रथम महाधिवेशनमा सहभागी नभएका सिंहले जनकपुरधामबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको लोकतान्त्रिक व्यवस्था, सङ्घीय शासन प्रणाली र समावेशी चरित्रसँग छेडखानी गरिए नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।
‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु– नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्,’ उनले लेखेका छन्।
सांसद सिंहले नेपाली जनताको मुख्य अपेक्षा सुशासन र समृद्धि रहेको उल्लेख गर्दै राजनीतिक दल तथा जनप्रतिनिधिहरूले विवादास्पद एजेन्डाभन्दा जनजीविकाका सवालमा केन्द्रित हुनुपर्ने बताए।
‘जनताले सुशासन र समृद्धि खोजेका छन्। हामी हरेक कदममा जनताको साथमा हुनेछौं,’ उनले भने।
रास्वपाले प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने नीति दस्तावेज पारित गरेसँगै उक्त विषय राजनीतिक वृत्तमा बहसको विषय बनेको छ। सरकार र आफ्नै पार्टीका गतिविधिप्रति समय–समयमा आलोचनात्मक धारणा राख्दै आएका सिंह महाधिवेशनमा पनि सहभागी भएका थिएनन्।