राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेकी छन् ।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि पदाधिकारी चयन प्रक्रिया अघि बढ्ने क्रममा गौतम उपसभापतिको दौडमा देखिएकी हुन्।
रास्वपाको विधानअनुसार पहिले ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुन्छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ। सभापतिमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
उपसभापतिका लागि सोविता गौतमसँगै स्वर्णिम वाग्ले, लीमा अधिकारी र समीक्षा बास्कोटाको नाम पनि चर्चामा रहेको बताइएको छ। रास्वपाको विधानअनुसार तीन उपसभापतिमध्ये एक जना सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।
युवा पुस्तामाझ लोकप्रिय नेताका रूपमा चिनिएकी गौतमले पार्टीको संगठन विस्तार, सुशासन र वैकल्पिक राजनीतिको एजेन्डालाई थप मजबुत बनाउन आफू पदाधिकारीको भूमिकामा आउन चाहेको बताएको समाचारमा उल्लेख छ।