दुई सातादेखिको खडेरीले पश्चिम नवलपरासीमा धानबाली संकटमा, खानेपानीसमेत अभाव

1.4k Shares

नवलपरासी पश्चिम । बर्दघाट सुस्तापश्चिम नवलपरासीमा दुई सातादेखि वर्षा नहुँदा खडेरी लम्बिएको छ । अत्यधिक गर्मीका कारण धानखेतमा रोपिएका बिरुवा सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

लामो समयदेखि पानी नपर्दा खेतमा धाँजा फाट्न थालेको छ भने रोपिएका धानका बिरुवासमेत सुक्न थालेका छन् । यससँगै सिँचाइका स्रोतहरू सुक्दै जाँदा खानेपानीको समस्या पनि गम्भीर बन्दै गएको स्थानीयवासीले बताएका छन् ।

पाल्हीनन्दन गाउँपालिका–६ का किसान दीनानाथ यादवका अनुसार खेतमा लगाइएका धानका बिरुवा सुक्न थालेपछि रोपाइँको काम नै रोकिएको छ। उहाँले यस वर्षको खडेरीका कारण डिप बोरिङ र चापाकलसमेत सुक्न थालेपछि सिँचाइसँगै पिउने पानीको समस्या बढेको बताउनुभयो ।

यस्तै, पाल्हीनन्दन–५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले गण्डक नहरको दक्षिणतर्फका केही गाउँमा चापाकलबाट थोरै भए पनि पानी आइरहेकाले सामान्य कामकाजमा राहत मिलेको भए पनि अधिकांश क्षेत्रमा पानीको अभाव चर्किएको जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानीको संकट बढेपछि स्थानीयवासीले चन्दा संकलन गरेर मोटर सञ्चालन गरी खानेपानी संस्थानले गाडेको डिप बोरिङबाट पानी आपूर्ति गर्नुपरेको छ। लगातारको खडेरीका कारण बाँकी खेतमा धान रोप्ने कामसमेत रोकिएको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिवप्रसाद अर्यालले पश्चिमी वायु प्रणाली सक्रिय भएपछि किसानले उत्साहका साथ धान रोपेको भए पनि पछिल्लो खडेरीले रोपिएका बिरुवा सुक्न थालेपछि किसानहरू आत्तिएको बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा हालसम्म करिब ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । तर दुई सातादेखि वर्षा नहुँदा धानबालीसँगै खानेपानीको समस्या पनि विकराल बन्दै गएको छ। बोरिङ र चापाकल सुक्न थालेपछि पश्चिम नवलपरासीका बासिन्दाले थप कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो ।

यसबीच, पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको खबरसँगै स्थानीय किसानहरूले छिट्टै वर्षा भई गर्मी कम हुने, खानेपानी तथा सिँचाइको समस्या समाधान हुने र धानबाली जोगिने आशा गरेका छन् । – रासस

 
 
सम्बन्धित समाचार