माओवादी सशस्त्र युद्धको उल्लेख नगरी रास्वपाले सार्वजनिक गर्‍यो राजनीतिक दस्ताबेज

1.4k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्ताबेजमा १० वर्षे माओवादी सशस्त्र युद्धलाई समावेश नगरेको पाइएको छ ।

मंगलबार सभापति रवि लामिछानेले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको ‘बलिदानप्रति कृतज्ञ छौँ र भविष्यप्रति विश्वस्त’ शीर्षकअन्तर्गत नेपालको विभिन्न राजनीतिक परिवर्तनका चरणहरूलाई समेटिएको छ ।

दस्ताबेजमा २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनआन्दोलन तथा २०६२–६३ सालको जनआन्दोलनलाई सम्मानजनक ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्दै ती आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

तर, अन्य प्रमुख राजनीतिक दलहरूले सकारात्मक वा नकारात्मक रूपमा उल्लेख गर्ने गरेको १० वर्षे माओवादी सशस्त्र युद्ध भने रास्वपाको दस्ताबेजमा समेटिएको छैन । यसलाई लिएर रास्वपाले नेपालको राजनीतिक इतिहासलाई हेर्ने आफ्नो दृष्टिकोण फरक ढंगले प्रस्तुत गरेको देखिएको छ ।

दस्ताबेजमा भने महिला, दलित, मधेसी, आदिवासी तथा जनजाति समुदायका आन्दोलन र तिनले समावेशी राज्य निर्माणमा पुर्‍याएको योगदानलाई सम्मान गरिएको छ ।

रास्वपाले आफूलाई ती संघर्ष र बलिदानहरूको ‘कृतज्ञ उत्तराधिकारी’ भएको दाबी गर्दै समावेशी मूल्य र उपलब्धिप्रति प्रतिबद्ध रहेको जनाएको छ । रास्वपाको राजनीतिक दस्ताबेजमा माओवादी सशस्त्र युद्धको अनुपस्थितिले राजनीतिक वृत्तमा बहसको विषय बन्न सक्ने देखिएको छ ।

सम्बन्धित समाचार