चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचनको नतिजा मतदान सम्पन्न भएको करिब डेढ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गरिएकाले मतगणनामा धेरै समय नलाग्ने जनाएको छ। आयोगका अनुसार मतदान सकिएलगत्तै मत गणना प्रक्रिया सुरु हुने र अधिकतम डेढ घण्टाभित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गर्नेछन्। प्रविधिको प्रयोगले मतगणना छिटो, पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको निर्वाचन आयोगको भनाइ छ।
सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अहिले केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचन कार्यतालिकाअनुसार पहिलो चरणमा केन्द्रीय सदस्य चयन हुनेछ। त्यसपछि मतपरिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
रास्वपाको पहिलो महाधिवेशनमा करिब चार हजार प्रतिनिधि सहभागी रहेको बताइएको छ। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति र पदाधिकारी चयन गरिने भएकाले निर्वाचनप्रति पार्टीभित्र चासो बढेको छ।