रास्वपा महाधिवेशनमा प्रचार कागजमै, मतदान मेसिनको तयारी

1.3k Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि निर्वाचनको अन्तिम तयारी तीव्र पारिएको छ। उम्मेदवारहरू यतिबेला मत माग्न व्यस्त छन् भने निर्वाचन स्थल वरपर प्रचार सामग्रीको चहलपहल बढेको छ।

गएरातिसम्म चलेको मनोनयन दर्ता प्रक्रियामा करिब ४०० जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। रास्वपाको विधानअनुसार ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सभापतिबाट मनोनयन गरिने व्यवस्था छ।

सभापति पदमा रवि लामिछानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्य चयनपछि १९ सदस्यीय पदाधिकारीका लागि छुट्टै निर्वाचन गरिनेछ।

महाधिवेशनमा सहभागी करिब चार हजार प्रतिनिधिले इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गर्नेछन्। मतदानका लागि करिब ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ।

यद्यपि मतदान प्रक्रिया प्रविधिमै आधारित हुने भए पनि उम्मेदवारहरूको प्रचार भने परम्परागत शैलीमै भइरहेको छ। उम्मेदवार र तिनका समर्थकहरू कागजी पर्चा, पोस्टर र प्रचार सामग्री बोकेर मत माग्न व्यस्त देखिएका छन्। निर्वाचन स्थल वरपर यस्ता सामग्री छरपस्ट देख्न सकिन्छ।

असार ७ गतेदेखि चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन प्राविधिक कारण र प्रतिनिधि व्यवस्थापनमा ढिलाइ हुँदा निर्धारित समयभन्दा लम्बिएको छ।

सम्बन्धित समाचार