चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली निर्धारित समयमै सार्वजनिक हुन सकेको छैन ।
उम्मेदवारी दर्तापछि प्राप्त निवेदनहरूको छानबिन, दाबी–विरोध र प्राविधिक व्यवस्थापनका कारण प्रारम्भिक सूची प्रकाशनमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । यससँगै महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ भने निर्धारित अवधि थप लम्बिने भएको छ ।
निर्वाचन समितिले सबै प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक समय लागेकाले संशोधित तालिका सार्वजनिक गरिने जनाएको छ। प्रारम्भिक सूची प्रकाशनपछि दाबी–विरोध, अन्तिम नामावली प्रकाशन तथा मतदान प्रक्रिया अघि बढाइनेछ ।
रास्वपाको प्रथम महाधिवेशनमा सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य पदका लागि निर्वाचन प्रक्रिया जारी छ। हजारौं प्रतिनिधिको सहभागितामा भइरहेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले यसको चासो बढेको छ ।