नेपालगन्जका विद्यालय तीन दिन बन्द, अत्यधिक गर्मीले पठनपाठन प्रभावित

2.2k Shares

नेपालगन्ज । असारको पहिलो साता बितिसक्दा पनि वर्षा नपरेर अत्यधिक गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो। शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार असार १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म विद्यालय बन्द रहनेछ ।

यसअघि पनि अत्यधिक गर्मीका कारण जेठ २६ देखि २९ गतेसम्म चार दिन विद्यालय बिदा दिइएको थियो। तर वर्षा नपरेपछि तापक्रम अझै घट्न नसक्दा जनजीवन प्रभावित बनेको र पुनः बिदा दिनु परेको उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख प्रशान्त बिष्टका अनुसार विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा कठिनाइ हुने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवालाको सुझावका आधारमा बिदा गर्ने निर्णय गरिएको हो ।

साथै धेरै अभिभावकहरूले पनि विद्यालय बन्द गर्न आग्रह गरेपछि उक्त निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

 
 
सम्बन्धित समाचार