ललितपुरको चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान तीव्र, १३ करोडको परियोजना कार्यान्वयनमा

1.6k Shares

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानलाई प्राथमिकताका साथ अघि बढाएको छ। सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो र एकान्तकुना हुँदै कलंकीतर्फको चक्रपथ खण्डमा आधुनिक बत्ती जडान गरिएको हो।

महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक र मुख्य सडकहरूमा समेत स्मार्ट स्ट्रिट लाइट विस्तार गरिरहेको जनाएको छ। यसअन्तर्गत दोस्रो चरणमा ललितपुर क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर चक्रपथमा बत्ती जडान गर्ने योजना कार्यान्वयनमा रहेको छ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनका अनुसार परियोजनाका लागि महानगरपालिकाले १० करोड रुपैयाँ र नेपाल विद्युत् प्राधिकरणले तीन करोड रुपैयाँ सहयोग गरेको छ। कुल १३ करोड रुपैयाँको लगानीमा स्मार्ट स्ट्रिट लाइट परियोजना सञ्चालन भइरहेको हो।

नगरप्रमुख महर्जनले आधुनिक बत्ती जडान भएपछि चक्रपथ क्षेत्र रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहज हुने र दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त गरे। उनका अनुसार परियोजनाअन्तर्गत ११ मिटर अग्ला ३७१ वटा पोल, आठ मिटर अग्ला १९५ वटा, सात मिटर अग्ला २२४ वटा पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ।

महानगरपालिका क्षेत्रभित्रको सम्पूर्ण ७.९ किलोमिटर चक्रपथ खण्ड प्रभावकारी रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती सञ्चालनमा ल्याइनेछ भने त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गरिने महानगरपालिकाले जनाएको छ।

नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिँदै यस परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

 
 
सम्बन्धित समाचार