राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक विवाद चर्किएको छ । सभापति रवि लामिछानेविरुद्ध सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका बारा क्षेत्र भोला कुमार साह कानु (अभिषेक गुप्ता) को नाम महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएपछि विवाद थप बढेको हो ।
कानुले सामाजिक सञ्जालमार्फत आफूलाई प्रतिनिधि सूचीबाट हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यसअघि पार्टीका सभापति रवि लामिछाने सँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए ।
उनले बर्खास्त गरिएका बारा पूर्वसभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता पुनः कायम गर्नुपर्ने माग राख्दै सभापति पदमा उम्मेदवारी दिने बताएका थिए । सोही विषयलाई लिएर उनले पार्टी नेतृत्वको आलोचना पनि गर्दै आएका थिए ।
पार्टी नेतृत्वले भने प्रतिनिधि सूचीबाट नाम हटाइनुको कारणबारे अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । कानुले भने आफ्नो नाम हटाइनु उम्मेदवारी घोषणासँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरेका छन् ।