काठमाडौं । नेपाली फिल्म उद्योग यतिबेला गम्भीर व्यावसायिक संकटबाट गुज्रिरहेको छ। कलाकारहरूको पारिश्रमिक निरन्तर बढिरहे पनि अधिकांश फिल्मले लगानीसमेत उठाउन नसक्ने अवस्था देखिएको छ। पछिल्ला बक्स अफिस तथ्यांकले महँगा स्टारहरूको उपस्थितिले मात्रै फिल्म सफल नहुने स्पष्ट संकेत गरेका छन्।
२०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या करिब २ करोड ९१ लाख छ। तर हालसम्म सर्वाधिक व्यापार गर्ने नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न करिब १७ लाख टिकट बिक्री भएको तथ्यले नेपाली दर्शकमाझ हलमा पुगेर फिल्म हेर्ने संस्कार अझै सीमित रहेको देखाउँछ।
नेपालमा वार्षिक रूपमा औसत ६० वटा फिल्म प्रदर्शनमा आउने गरे पनि दर्शक संख्या सीमित हुँदा अधिकांश फिल्मले अपेक्षित व्यापार गर्न सकिरहेका छैनन्। पछिल्लो समय चर्चित कलाकारका फिल्महरू लगातार असफल हुँदा उनीहरूको उच्च पारिश्रमिकमाथि समेत प्रश्न उठ्न थालेको छ।
नायक दयाहाङ राई अभिनीत ‘मितज्यू’ले प्रदर्शनको सुरुआती नौ दिनमा करिब १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ‘मिरमिरे’ले ५० लाख रुपैयाँसमेत कमाउन सकेन। यता विपिन कार्की अभिनीत ‘काजी’ले सुरुआती नौ दिनमा करिब ४० लाख रुपैयाँको व्यापार गरेको छ। लगातार पाँच फिल्म असफल भएपछि उनको व्यावसायिक यात्रामाथि पनि दबाब बढेको छ।
अभिनेता सौगात मल्ल अभिनयका कारण चर्चामा रहे पनि एकल नायकका रूपमा उल्लेखनीय सफलता हात पार्न सकेका छैनन्। पछिल्लो समय ‘परालको आगो’ले केही राहत दिएको भए पनि उनका अधिकांश फिल्म कमजोर व्यापारको मारमा परेका छन्।
यसैबीच अभिनेता समीर भट्ट अभिनीत ‘बलिदान’मा करिब पाँच करोड रुपैयाँ लगानी गरिएको भए पनि फिल्मले अपेक्षित सफलता हासिल गर्न नसक्दा निर्माता आर्थिक संकटमा परेको चर्चा छ।
यो वर्ष प्रदर्शन भएका अधिकांश फिल्मले एक करोड रुपैयाँ ग्रस कलेक्सन पार गर्नसमेत संघर्ष गरिरहेका छन्। ‘मातली मंगले’ले ५१ लाख, ‘लाइफ ड्यामेज’ले ३३ लाख र ‘गुरु आमा’ले ३० लाख रुपैयाँको व्यापार गरेका छन्। अभिनेत्री आँचल शर्मा अभिनीत ‘एक मुठ्ठी बादल’ले भने करिब पाँच लाख रुपैयाँ मात्र कमाएको बताइएको छ।
निर्माताहरूका अनुसार एउटा नेपाली फिल्म बनाउन औसत दुई करोड रुपैयाँ लगानी आवश्यक पर्छ। तर अधिकांश फिल्मको व्यापार ५० लाख रुपैयाँ कटाउनै कठिन हुन थालेपछि नेपाली फिल्म उद्योगको भविष्य र वर्तमान व्यवसायिक मोडेलबारे गम्भीर बहस सुरु भएको छ।