किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन्।
जेलेन्स्कीले युक्रेन र रुसबीच जारी युद्धको समाधान प्रत्यक्ष संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्दै वार्ता सम्पन्न नहुन्जेल पूर्ण युद्धविराम लागू गर्न आग्रह गरेका हुन्। उनले युरोपमा जारी युद्धप्रति अमेरिकाको ध्यान पुनः केन्द्रित नहुँदासम्म निष्क्रिय भएर बस्नु उचित नहुने पनि बताएका छन्।
पत्रमा उनले लेखेका छन्, “युक्रेन प्रत्यक्ष संवादमार्फत यो युद्ध अन्त्य गर्न चाहन्छ। म बैठकको प्रस्ताव गर्दछु।”
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुनुलाई सकारात्मक कदम भन्दै यस्तो भेट ‘उत्कृष्ट’ हुने प्रतिक्रिया दिएका छन्।
उता, क्रेमलिनले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइने जनाएको छ। यद्यपि पुटिनले यसअघि नै तत्काल युद्धविरामको सम्भावनालाई अस्वीकार गर्दै आएका छन्।
जेलेन्स्कीले आफ्नो पत्रमा पुटिनमाथि व्यङ्ग्य पनि गरेका छन्। हालै युक्रेनले रुसी भूमिमा गरेका आक्रमणलाई संकेत गर्दै उनले “२६ वर्षसम्म सत्तामा रहँदा पुटिनमाथि उमेरको असर देखिन थालेको छ” भनी टिप्पणी गरेका छन्।
यद्यपि आलोचनात्मक अभिव्यक्तिका बीच उनले वार्ताको प्रस्ताव दोहोर्याउँदै युद्ध अन्त्यका लागि प्रत्यक्ष संवाद आवश्यक रहेको बताएका छन्।
यसअघि पनि जेलेन्स्कीले यस्तै प्रस्ताव राख्दै आएका थिए। त्यसबेला जस्तै यसपटक पनि क्रेमलिनले उनलाई मस्को आएर पुटिनसँग भेट्न स्वागत रहने जनाएको छ।
उता, सेन्ट पिटर्सबर्गमा विदेशी सञ्चारमाध्यमसँग कुरा गर्दै पुटिनले आफू युक्रेनसँग सम्झौता गर्न तयार रहेको बताएका छन्। तर त्यसका लागि दुवै पक्षले सम्झौताका सर्तहरूमा लचकता देखाउनुपर्ने उनको भनाइ छ।
रुस–युक्रेन युद्ध जारी रहेकै बेला दुवै पक्षबाट वार्ताको संकेत देखिए पनि शान्ति सम्झौताका आधारभूत विषयमा अझै सहमति जुट्न सकेको छैन।