छिमेकी पहिलो नीतिमा नेपाल प्राथमिकतामा रहेको मोदीको भनाइ

4.5k Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप विस्तार गर्न नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। उनले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्रमुख साझेदार मुलुकका रूपमा उल्लेख गरेका छन्।

नयाँदिल्लीमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दुई देशबीचको सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउने इच्छा व्यक्त गरेका हुन्।

मोदीले एक्स (ट्विटर) मा नेपाली भाषामै प्रतिक्रिया दिँदै लामिछानेसँग भेट हुन पाउँदा खुशी लागेको उल्लेख गरेका छन्। उनले साझा समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको दृष्टिकोणलाई स्वागत गर्दै भारत त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन्।

भेटवार्तामा भारततर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारी सहभागी थिए।

नेपाली पक्षबाट रास्वपा सभापति लामिछाने, उहाँकी धर्मपत्नी निकिता पौडेल र अन्य प्रतिनिधिहरू सहभागी भएका थिए। उक्त भेटलाई नेपाल–भारत सम्बन्धमा नयाँ कूटनीतिक उत्साहको संकेतका रूपमा हेरिएको छ।

 
सम्बन्धित समाचार