कर्णालीको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक, कृषि र रोजगारीमा विशेष जोड

1.9k Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुखमार्फत प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।

नीति तथा कार्यक्रमअनुसार बाँझो जमिनलाई उत्पादनसँग जोड्ने, युवालाई लक्षित उद्यमशीलता तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, सहकारीमार्फत उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्ने योजना अघि सारिएको छ। कृषि क्षेत्रलाई व्यावसायिक र आधुनिक बनाउँदै अर्गानिक उत्पादनमा जोड दिइने उल्लेख छ।

पर्यटनतर्फ ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन, होमस्टे तथा स्थानीय संस्कृति र सम्पदाको संरक्षणमार्फत पर्यटक आकर्षित गर्ने नीति लिइएको छ। साथै जलविद्युत्, सडक, हवाई सेवा तथा अन्य भौतिक पूर्वाधारको विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई थप सुदृढ बनाउने, विशेषज्ञ सेवा विस्तार गर्ने तथा शिक्षा क्षेत्रमा प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्रोत्साहन गर्ने कार्यक्रम समेटिएको छ। युवाका लागि सीप विकास तथा रोजगारमूलक तालिम सञ्चालन गर्ने योजनासमेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रदेश सरकारले सुशासन, सेवा प्रवाहको प्रभावकारिता, डिजिटल प्रणालीको विस्तार तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।

सम्बन्धित समाचार