विश्व पर्वतारोहणको इतिहास बोकेको अन्नपूर्ण आरोहणको ७६औँ वर्षगाँठ मनाइँदै

1.5k Shares

म्याग्दी । विश्वमै पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा आज अन्नपूर्ण आरोहण दिवस मनाइँदै छ। ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर म्याग्दीको नारच्याङ क्षेत्रमा पर्छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सबैभन्दा पहिले मानव पाइला परेको हिमाल भएकाले अन्नपूर्णलाई पर्वतारोहण इतिहासको जेठो हिमालका रूपमा चिनिन्छ।

वि.सं. २००७ साल जेठ २० गते (३ जुन १९५०) फ्रान्सेली पर्वतारोही मौरिज हर्जाेग र लुई लचेनल सहितको टोलीले अन्नपूर्णको सफल आरोहण गरेको थियो। अन्नपूर्णको शिखर चुमिएको तीन वर्षपछि मात्र विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण भएको थियो।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन का अनुसार नेपालको पर्यटन विकास र पर्वतारोहण यात्राको ऐतिहासिक सुरुआतलाई स्मरण गर्दै दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुक क्षेत्रतर्फ आधार शिविरसम्म दौड प्रतियोगिता आयोजना गरेको छ भने नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिका मा पनि विशेष कार्यक्रम गरिएको छ।

पर्यटन विभागका अनुसार गत वर्षसम्म ५३६ जनाले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका छन्। यस वर्षको वसन्तयाममा चार समूहका २७ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका थिए। सफल आरोहणको अद्यावधिक विवरण भने संकलन भइरहेको विभागले जनाएको छ।

दिवसको समापन अवसरमा आधार शिविरदेखि नारच्याङसम्मको ३६ किलोमिटर दूरीमा खुला दौड प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिनेछ। प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ, उपविजेताले ६० हजार रुपैयाँ, तेस्रो स्थान हासिल गर्नेले ३५ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने तीन–तीन जनाले १०–१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स संघ को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममार्फत अन्नपूर्ण आरोहणको ऐतिहासिक महत्वलाई पुनः स्मरण गरिएको छ।

सम्बन्धित समाचार