घुस लिएको प्रमाणित भएपछि प्रदेशसभा सदस्य सिंहलाई ४ वर्ष १ महिना जेल सजाय
2.6k
Shares
जनकपुरधाम । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुश्वाहा लाई विशेष अदालतले ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको बिगो जफत गर्ने फैसला गरेको हो।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सिंहले विभिन्न उपभोक्ता समितिबाट घुसस्वरूप रकम लिएको पुष्टि भएपछि अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर गरेको थियो। अदालतले भ्रष्टाचार कसुरमा ४ वर्ष कैद र बिगो बराबरको जरिवाना निर्धारण गरेको छ।
सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय पनि सुनाएको छ। साथै, गैरकानुनी रूपमा आर्जन गरिएको रकम जफत गर्न आदेश दिएको छ।
अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पनि गरेको छ।
यसअघि गत जेठ ४ गते विशेष अदालतले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। जनता समाजवादी पार्टी बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका सिंह हाल निलम्बनमा छन्।