४८ राष्ट्र सहभागी विश्वकपमा मेसी–रोनाल्डो छैटौँ पटक खेल्ने कीर्तिमान नजिक

6.2k Shares

काठमाडौं, जेठ १९  । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ मा विश्व फुटबलका दुई महान् खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्ने संघारमा पुगेका छन्। दुवै खेलाडी आफ्ना राष्ट्रिय टोलीको अन्तिम सूचीमा समावेश भएपछि छैटौँ पटक विश्वकप खेल्ने कीर्ति । मान नजिक पुगेका हुन्।

फिफाले सार्वजनिक गरेको विवरणअनुसार यसपटक विश्वकपमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगितामा १ हजार २४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने कुल १०४ खेल खेलाइनेछ। यसले विश्व फुटबललाई अझै व्यापक र प्रतिस्पर्धात्मक बनाएको फिफाले जनाएको छ।

अर्जेन्टिनाका कप्तान मेसीले सन् २००६ देखि लगातार पाँच विश्वकप खेलिसकेका छन्। कतार २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका उनले अब छैटौँ विश्वकपमा आफ्नो ऐतिहासिक यात्रा अघि बढाउने तयारी गरेका छन्।

यस्तै पोर्चुगलका कप्तान रोनाल्डो पनि सन् २००६ देखि विश्वकप यात्रा सुरु गर्दै लगातार पाँच संस्करण खेलिसकेका छन्। उनी पनि छैटौँ विश्वकप खेल्दै फुटबल इतिहासमा दुर्लभ उपलब्धि हासिल गर्ने नजिक पुगेका छन्।

फिफाका अनुसार मेसी र रोनाल्डोसँगै मेक्सिकोका अनुभवी गोलकिपर गुइलेर्मो ओचोआ पनि छैटौँ विश्वकप खेल्ने सूचीमा परेका छन्। तर विश्वभरका समर्थकहरूको मुख्य आकर्षण भने फेरि पनि मेसी र रोनाल्डोकै प्रदर्शन रहने अपेक्षा गरिएको छ।

यसपटकको विश्वकपमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले पहिलो पटक ऐतिहासिक डेब्यु गर्दैछन्। नयाँ राष्ट्रहरूको सहभागितासँगै विश्वकपले अझ ठूलो विश्वव्यापी स्वरूप लिने विश्वास गरिएको छ।

जुन ११ देखि सुरु हुने विश्वकप २०२६ मा सबैको नजर फेरि एक पटक मेसी र रोनाल्डोले रच्न सक्ने नयाँ इतिहासतर्फ केन्द्रित रहनेछ।

सम्बन्धित समाचार