अमेरिका, बेलायत र अष्ट्रेलियाले संयुक्त रूपमा पानीमुनी ड्रोन प्रविधि विकास गर्ने

2.5k Shares

अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनी सञ्चालन हुने अत्याधुनिक ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। तीन देशबीचको सुरक्षा साझेदारी ‘अकस’ (AUKUS) अन्तर्गत उक्त परियोजना अघि बढाइएको हो।

सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनका क्रममा तीन देशका रक्षा मन्त्रीहरूले संयुक्त रूपमा मानवरहित पानीमुनी सवारी साधन (अन्डरसी ड्रोन) विकास गरिने जानकारी दिएका हुन्। यी प्रविधिहरू सन् २०२७ भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

नयाँ ड्रोन प्रणाली समुद्री निगरानी, गुप्त सूचना संकलन, पनडुब्बीविरुद्धको अभियान, समुद्री युद्ध, विद्युतीय युद्ध तथा बारुद निष्क्रियकरणजस्ता कार्यमा प्रयोग हुने बताइएको छ। साथै समुद्रभित्र रहेका इन्टरनेट केबल, ऊर्जा पाइपलाइन र अन्य महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न पनि यसले सहयोग गर्ने अपेक्षा गरिएको छ।

अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सले पछिल्लो समय समुद्रभित्रका केबल तथा पूर्वाधारमा बढ्दो जोखिम देखिएकाले नयाँ प्रविधिको आवश्यकता बढेको बताएका छन्। उनले “समुद्रको भुइँ अब नयाँ रणनीतिक प्रतिस्पर्धाको क्षेत्र बन्दै गएको” उल्लेख गरेका छन्।

बेलायती रक्षा मन्त्री जोन हिलीले यो परियोजनालाई आधुनिक रक्षा प्रणालीतर्फको महत्वपूर्ण कदमको रूपमा वर्णन गरेका छन्। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि समुद्री क्षेत्रमा आफ्नो रणनीतिक क्षमता बलियो बनाउन नयाँ प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

अकस सन् २०२१ मा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच स्थापना गरिएको सुरक्षा साझेदारी हो। यसको उद्देश्य उन्नत रक्षा प्रविधि विकास, सैन्य सहकार्य विस्तार तथा हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सुदृढ गर्नु रहेको छ।

 
 
सम्बन्धित समाचार