काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेञ्जर्स बेङ्गलोर (आरसीबी)लाई ५५ रनले पराजित गरेको छ । जित निकाले पनि हैदरवाद भने रनरेटका आधारमा शीर्ष दुईमा पुग्न असफल भएको छ ।
हैदरवादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरवादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार पारेको थियो । टोलीका लागि इशान किशनले ४६ बलमा ७९ रन बनाए भने अभिषेक शर्माले २२ बलमै ५६ रनको आक्रामक इनिङ खेले । हेनरिक क्लासेनले २४ बलमा ५१ रन थप्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
२५६ रनको लक्ष्य पछ्याएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्यो । आरसीबीका कप्तान रजत पाटीदारले ३९ बलमा ५६ रन बनाए भने वेंकटेश अय्यरले १९ बलमा ४४ रनको योगदान दिए । क्रुनाल पाण्ड्या ३१ बलमा ४१ रन बनाएर अविजित रहे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
हैदरवादका लागि इशान मालिंगा ले दुई विकेट लिए भने ट्राभिस हेड र साकिब हुसेनले समान एक–एक विकेट लिए ।
लिग चरणका सबै खेल सकिँदा आरसीबी, गुजरात टाइटन्स र सनराइजर्स हैदरवादको समान १८ अंक बनेको छ । तर, उत्कृष्ट रनरेटका आधारमा आरसीबी शीर्ष स्थानमा रह्यो भने गुजरात दोस्रो र हैदरवाद तेस्रो स्थानमा सीमित भयो । हैदरवादले शीर्ष दुईमा पुगेर पहिलो क्वालिफायर खेल्ने लक्ष्य राखेको भए पनि त्यो सम्भव हुन सकेन ।