ट्रम्पविरुद्ध आफ्नै पार्टीका सांसद उभिए, इरान युद्ध रोक्ने प्रस्ताव अघि बढ्यो
8.2k
Shares
वासिङ्टन । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने प्रस्ताव पारित भएको छ । मंगलबार भएको मतदानमा प्रस्ताव ५०–४७ मतले पारित भएको हो । विशेष कुरा के भने ट्रम्पकै रिपब्लिकन पार्टीका चार सांसदले विपक्षी डेमोक्रेटिक पार्टीको प्रस्तावलाई समर्थन गरेका थिए ।
प्रस्ताव पारित भएसँगै अब इरानविरुद्धको युद्ध वा सैन्य कारबाही लामो समयसम्म सञ्चालन गर्न अमेरिकी कंग्रेसको स्वीकृति आवश्यक पर्ने दबाब बढेको छ ।
यो प्रस्ताव डेमोक्रेटिक सिनेटर टिम केनले प्रस्तुत गरेका हुन् । उनले युद्धजस्तो संवेदनशील विषयमा राष्ट्रपतिले संसदलाई जानकारी दिनुपर्ने र कंग्रेसको अनुमोदन आवश्यक हुने बताएका छन् ।
मतदानका क्रममा रिपब्लिकन सांसदहरू र्यान्ड पल, सुसन कोलिन्स, लिसा मर्कोव्स्की र बिल क्यासिडीले प्रस्तावको समर्थन गरेका थिए । उता डेमोक्रेट सांसद जोन फेटरम्यान भने प्रस्तावको विपक्षमा उभिएका थिए ।
अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने अधिकार कंग्रेससँग रहने व्यवस्था छ । सन् १९७३ मा बनेको ‘वार पावर्स रेजोल्युसन’ अनुसार राष्ट्रपतिले कंग्रेसको स्वीकृतिबिना सीमित अवधिसम्म मात्रै सैन्य कारबाही सञ्चालन गर्न पाउने प्रावधान रहेको छ ।
यद्यपि, यो प्रस्तावले अझै अन्तिम कानुनी रूप लिन बाँकी छ । अब यसलाई प्रतिनिधिसभाबाट पनि अनुमोदन गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपति ट्रम्पले ‘भिटो’ प्रयोग गर्न सक्ने सम्भावना समेत रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।