हैदरावादको जितले चेन्नाई बाहिरिँदा गुजरातलाई पनि प्लेअफ टिकट

7.9k Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ। हैदरावादको जितसँगै गुजरात टाइटन्स पनि अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो।

चेन्नाईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। टोलीका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४४ रन बनाए। सञ्जु सामसनले २७ तथा शिवम दुबेले २६ रन थपे। हैदरावादका कप्तान प्याट कमिन्सले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने सकिब हुसेनले २ विकेट झारे।

१८१ रनको लक्ष्य पछ्याएको हैदरावादले आक्रामक ब्याटिङ गर्दै १९ ओभरमै लक्ष्य पूरा गर्‍यो। टोलीका लागि इशान किशानले शानदार ७० रन बनाए भने हेनरिक क्लासेनले ४७ रनको योगदान दिए। अभिषेक शर्माले २६ रन जोडे। चेन्नाईका मुकेश चौधरीले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यस नतिजासँगै रोयल च्यालेन्जर्स बैंगलोरपछि हैदरावाद र गुजरात पनि प्लेअफमा पुगेका छन्। अब अन्तिम चारमा पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी रहेको छ।

सम्बन्धित समाचार