काठमाडौं । राफिन्हाको दुई गोलको मद्दतमा स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोनाले आइतबार राति रियल बेटिसलाई ३–१ ले पराजित गरेको छ ।
घरेलु मैदानमा प्राप्त यो जित बार्सिलोनाका लागि विशेष बन्यो । किनभने बार्सिलोना ला लिगाको ३८ खेलको सिजनमा घरेलु मैदानमा खेलिएका सबै १९ खेल जित्ने पहिलो टिम बनेको छ ।
क्याम्प नोउमा भएको खेलमा ब्राजिलियन फरवार्ड बार्सिलोनाका राफिन्हाले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले ६२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि जाओ कान्सेलोले ७४औँ मिनेटमा गोल थपे । बेटिसका लागि इस्कोले ६९औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए । बार्सिलोनाले गत साता एल क्लासिकोमा रियल मड्रिड लाई हराउँदै यसअघि नै ला लिगाको उपाधि जितिसकेको थियो ।
यस नतिजासँगै बार्सिलोना एकै सिजन घरेलु मैदानमा सबै खेल जित्ने ११औँ क्लब बनेको छ । सन् १९८५–८६ पछि यस्तो उपलब्धि हासिल गर्ने यो पहिलो स्पानिस टोली पनि हो । त्यसबेला रियल मड्रिडले १७ घरेलु खेल जितेको थियो, तर हालको २० टोलीको ढाँचामा १९ वटै घरेलु खेल जित्ने उपलब्धि भने पहिलो पटक बनेको हो ।
यस सिजन बार्सिलोना च्याम्पियन्स लिगमा मात्र घरेलु मैदानमा दुई पटक पराजित भएको थियो । ला लिगामा भने टोली अपराजित रहँदै पूर्ण घरेलु रेकर्ड बनाउन सफल भयो । बार्सिलोनाले यस सिजनको अन्तिम लिग खेल आगामी शनिबार भ्यालेन्सियाविरुद्ध खेल्नेछ ।
यस्तै, सिजनपछि क्लब छाड्न लागेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीका लागि पनि यो घरेलु मैदानको अन्तिम खेल भावुक र स्मरणीय बन्यो । सन् २०२२ मा बार्सिलोना पुगेयता उनले १९१ खेलमा ११९ गोल गरेका छन् ।