मस्कोमा युक्रेनको भीषण ड्रोन हमला, एक भारतीयसहित ३ जनाको मृत्यु

3.7k Shares

मस्को । युक्रेनले रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो ड्रोन आक्रमण गरेको छ । आइतबार राति गरिएको उक्त आक्रमणमा एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको रूसी अधिकारीहरूले बताएका छन् ।

रूसी सरकारी समाचार एजेन्सी ‘तास’का अनुसार मस्को र आसपासका क्षेत्रमा ठूलो संख्यामा ड्रोन हमला गरिएको थियो । आक्रमणपछि विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको तथा केही भवनमा क्षति पुगेको जनाइएको छ । सुरक्षा निकायले तत्काल उद्धार तथा नियन्त्रणको काम अघि बढाएको बताइएको छ ।

मस्कोस्थित भारतीय दूतावासले पनि आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । दूतावासका अनुसार घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

युक्रेनले आक्रमणको जिम्मेवारी स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले लगातार युक्रेनी सहरहरूमा आक्रमण गरिरहेको भन्दै त्यसको प्रतिकारस्वरूप हमला गरिएको बताएका छन् ।

यसअघि रूसले युक्रेनको राजधानी किएभसहित विभिन्न क्षेत्रमा ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको थियो । त्यसपछि दुवै देशबीच सैन्य गतिविधि थप तीव्र बनेको देखिएको छ । पछिल्लो घटनापछि मस्को क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने रूस–युक्रेन युद्ध अझ चर्किने संकेत देखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।

सम्बन्धित समाचार