वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्ध अन्त्यसम्बन्धी वार्तामा ढिलाइ नगर्न चेतावनी दिएका छन् । उनले समयमै सहमति नभए इरानले गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानप्रति लक्षित सन्देश जारी गर्दै वार्तालाई तत्काल निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । उनले “अब धेरै समय बाँकी छैन” भन्दै इरानले वार्तामा ढिलाइ गरे स्थिति थप जटिल बन्न सक्ने उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले यो अभिव्यक्ति इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग टेलिफोन संवाद गर्नुअघि सार्वजनिक गरेका हुन् । अमेरिका र इरानबीच युद्ध अन्त्य तथा आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा जारी वार्तामा अपेक्षित प्रगति हुन नसकिरहेका बेला ट्रम्पको यस्तो चेतावनी आएको हो ।
इरानको अर्ध–सरकारी समाचार संस्था मेहर न्युज एजेन्सीले तेहरानले युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव अघि सारेको जनाएको छ । इरानले युद्धविराम, अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने, भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी र युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेको बताइएको छ ।
यता अमेरिकाले भने इरानमाथि थप कडा सर्त राखेको जनाइएको छ । अमेरिकी प्रस्तावअनुसार इरानले एउटा मात्रै आणविक केन्द्र सञ्चालन गर्न पाउने तथा आफ्नो युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त राखिएको बताइएको छ ।
यसअघि पनि ट्रम्पले इरानसँग सहमति नभए “ठूलो विनाश निम्तिन सक्ने” चेतावनी दिएका थिए । पछिल्लो अभिव्यक्तिसँगै मध्यपूर्व क्षेत्रमा अमेरिका–इरान तनाव झन् बढ्ने संकेत देखिएको विश्लेषण गरिएको छ ।