काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सीको ‘मार्स एक्सप्रेस’ मिसनले मङ्गल ग्रहको भूमध्यरेखा नजिकै रहेको शालबाताना भालिस उपत्यकाको नयाँ तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्बिरले मङ्गल ग्रह कुनै समय पानीले भरिएको र अहिलेको भन्दा बढी न्यानो तथा ओसिलो रहेको संकेत गरेको वैज्ञानिकहरूले बताएका छन् ।

तस्बिरमा गहिरा खोँच, घुमाउरा जलमार्गजस्ता आकृति र ‘केओटिक टेरेन’ भनिने भू–बनोट देखिएको छ । वैज्ञानिकहरूका अनुसार जमिनमुनिको बरफ पग्लिएपछि सतह भासिएर यस्तो संरचना बनेको हुनसक्छ । केही भागमा देखिएका कालो र नीलो धर्साहरू ज्वालामुखी खरानी भएको र पछि मङ्गलको हावाले त्यहाँ जम्मा गरेको अनुमान गरिएको छ ।

उपत्यका अन्त्य हुने ‘क्राइसे प्लानिटिया’ क्षेत्र मङ्गल ग्रहको सबैभन्दा होचा भूभागमध्ये एक मानिन्छ । धेरैजसो प्राचीन जलमार्ग यहीँ आएर टुंगिने भएकाले वैज्ञानिकहरूले त्यहाँ कुनै समय विशाल महासागर रहेको हुन सक्ने अनुमान गरेका छन् । यदि यो पुष्टि भए मङ्गल ग्रहमा जीवनको सम्भावनाबारेको अनुसन्धानमा नयाँ उपलब्धि हुने विश्वास गरिएको छ ।

सन् २००३ मा प्रक्षेपण गरिएको ‘मार्स एक्सप्रेस’ यानले दुई दशकदेखि मङ्गल ग्रहको सतह अध्ययन गर्दै आएको छ । यसमा जडित ‘हाई रेजोल्युसन स्टेरियो क्यामेरा’बाट प्राप्त तथ्यांकले मङ्गल ग्रहको भौगर्भिक इतिहास बुझ्न वैज्ञानिकहरूलाई सहयोग गरिरहेको छ ।