बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ गुलाफको बीउ उपहारस्वरूप पठाउने घोषणा गरेका छन् ।
बेइजिङस्थित ‘झोङ्नान्हाई कम्पाउन्ड’ मा आयोजित स्वागत समारोह र दिवाभोजका क्रममा राष्ट्रपति सीले ट्रम्पलाई उक्त उपहार दिने बताएका हुन् । उक्त स्थान चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको कार्यस्थल तथा निवासका रूपमा परिचित छ ।
भेटका क्रममा सीले ट्रम्पलाई कम्पाउन्डको ऐतिहासिक महत्वबारे जानकारी दिँदै त्यहाँ रहेको ४९० वर्ष पुरानो रुख पनि देखाएका थिए । बगैँचामा फुलेका गुलाफका बीउहरू उपहारस्वरूप पठाउने सीको प्रस्तावप्रति ट्रम्पले खुसी व्यक्त गर्दै “यो उत्कृष्ट विचार हो” भनेका थिए ।
संयुक्त सम्बोधनका क्रममा राष्ट्रपति सीले चीन–अमेरिका सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गर्दै यसलाई ऐतिहासिक कोसेढुङ्गाको संज्ञा दिएका छन् । तर, दुई नेताबीच भएको वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।