बारा । डिभिजन वन कार्यालय बाराले ३ नम्बर पुल नजिकको बस्तीमा डोजर चलाएर खाली गराएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान बस्ती हटाइएको हो ।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन क्षेत्र र निकुञ्जको जमिनमा बस्ती बसेकाले हटाउनुपरेको बताए । उनका अनुसार पटक–पटक माइकिङ र लिखित सूचना दिँदासमेत स्थानीयले अटेर गरेपछि डोजर प्रयोग गरिएको हो ।
तर स्थानीय व्यवसायी तथा बासिन्दाले भने राज्यले ज्यादतीपूर्ण ढंगले बस्ती हटाएको आरोप लगाएका छन् । दुई साताअघि सडक विभागको सूचनापछि त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर क्षेत्र स्थानीयले आफैं खाली गरिसकेको अवस्थामा फेरि डोजर चलाइएको उनीहरूको गुनासो छ ।
स्थानीय अगुवा अनिल पाख्रिनले २०४५ सालदेखि व्यवसाय गर्दै आएका स्थानीयलाई पर्याप्त समय नदिई हटाइएको बताए । उनका अनुसार सडक क्षेत्राधिकारभित्रका घरटहरा हटाइसकेपछि पनि थप समय नदिई डोजर चलाउँदा धेरै परिवार समस्यामा परेका छन् ।
त्रिभुवन राजमार्गअन्तर्गत हेटौंडा–पथलैया खण्डको ३ नम्बर पुल क्षेत्र यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित थियो । यहाँ ७० भन्दा बढी व्यवसायीले होटल तथा अन्य व्यवसाय सञ्चालन गर्दै आएका थिए । बजार खाली गराइएपछि स्थानीयको जीविकोपार्जन संकटमा परेको छ ।
स्थानीय व्यवसायी मिनाकुमारी रुम्बाले पसलको आम्दानीबाट ऋण लिएर केही दिनअघि मात्रै नयाँ घर बनाएको बताइन् । सडक क्षेत्र छोडेर घर बनाउँदा समस्या नहुने विश्वासमा १२ लाख रुपैयाँ ऋण गरेर घर बनाएको तर अहिले सबै गुमेको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माले व्यवसायीलाई वैकल्पिक व्यवस्था र पर्याप्त समय नदिई डोजर चलाउनु राज्यको बर्बर दमन भएको टिप्पणी गरे । उनले यसलाई व्यवसायीमाथि मात्र नभई स्थानीयको मानवअधिकारमाथिको हस्तक्षेपसमेत भनेका छन् ।