अमेरिका–क्यानडा–मेक्सिकोमा हुने विश्वकप २०२६ को खेलतालिका सार्वजनिक
6.2k
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ को विस्तृत खेलतालिका सार्वजनिक भएको छ । आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा पहिलो पटक ४८ टोली सहभागी हुनेछन् । प्रतियोगिता ११ जुनदेखि १९ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ ।
यसपटक विश्वकपमा कुल १०४ खेल खेलाइनेछन् । आयोजक राष्ट्र अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी १६ शहरमा प्रतियोगिताका खेल हुनेछन् । फिफाले सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल मेक्सिको सिटीको एस्टाडियो अज्टेकामा हुनेछ भने फाइनल खेल अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना गरिनेछ ।
प्रतियोगितामा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा चार टोली रहनेछन् । समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट आठ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यसपछि राउन्ड अफ ३२, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल हुनेछ । फिफाले यस संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता भनेको छ । खेल संख्या बढेकाले प्रतियोगिताको अवधि पनि अघिल्ला संस्करणभन्दा लामो हुनेछ ।
नेपालका फुटबल समर्थकका लागि धेरैजसो खेल राति र मध्यरातिपछि हुनेछन् । नेपाली समयअनुसार केही खेल राति ९:४५ बजे सुरु भए पनि अधिकांश खेल मध्यराति १२:४५ बजे, बिहान ३:४५ बजे र बिहान ६:४५ बजे सुरु हुने तालिका रहेको छ ।
विश्वकपमा ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, स्पेन, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्सजस्ता परम्परागत शक्तिशाली टोलीसँगै नयाँ टोलीहरूको पनि सहभागिता रहनेछ । यसपटक एशिया, अफ्रिका र कन्काकाफ क्षेत्रबाट बढी टोली सहभागी हुने भएकाले प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
फिफाले सार्वजनिक गरेको तालिकाले विश्वभरका फुटबल समर्थकमा उत्साह थपेको छ । प्रतियोगिताका टिकट बिक्री, टोलीहरूको तयारी र खेलस्थल व्यवस्थापनबारे पनि आयोजक राष्ट्रहरूले तयारी तीव्र बनाएका छन् ।