ट्रम्पले भने– दुवै देशको जित, सीले भने– सहकार्यले दुवैलाई फाइदा

1.4k Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच बेइजिङमा भएको उच्चस्तरीय वार्तामा दुवै नेताले अमेरिका–चीन सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने संकेत दिएका छन् । विश्व राजनीतिमा तनाव बढिरहेका बेला दुई नेताले प्रतिस्पर्धाभन्दा सहकार्यमा जोड दिएका हुन् ।

बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ मा भएको भेटवार्तामा राष्ट्रपति सीले अमेरिका र चीन प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्ने धारणा राखेका थिए । उनले सहकार्यले दुवै देशलाई लाभ पुग्ने उल्लेख गर्दै टकरावले विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय स्थायित्वमा असर पर्ने चेतावनी दिए ।

सीले “सहकार्यले दुवै पक्षलाई फाइदा हुन्छ, टकरावले दुवैलाई हानि गर्छ” भन्ने सन्देश दिँदै दुई देशबीचको सम्बन्धलाई नयाँ युगअनुसार अघि बढाउनुपर्ने बताएका थिए । उनले विश्वका दुई शक्तिशाली राष्ट्रबीच स्थायित्व र विश्वास कायम रहनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति ट्रम्पले भने अमेरिका र चीनबीचको सम्बन्ध अझ मजबुत बन्ने दाबी गरेका छन् । उनले यस भेटलाई “इतिहासकै ठूलो शिखर वार्ता” को संज्ञा दिँदै दुवै देशले सहकार्यबाट ठूलो उपलब्धि हासिल गर्न सक्ने बताएका थिए । ट्रम्पले “दुवै देशको जित हुने अवस्था सिर्जना गर्न सकिन्छ” भन्ने अभिव्यक्ति दिएका हुन् ।

वार्ताका क्रममा व्यापार, कृत्रिम बौद्धिकता, ताइवान, मध्यपूर्वको तनाव, इरानको परमाणु कार्यक्रम र सुरक्षा सहकार्यका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ताइवानको विषयमा चीनले आफ्नो अडान स्पष्ट राखेको थियो भने अमेरिकाले पुरानै नीति कायम रहेको जनाएको छ ।

दुई देशबीच केही आर्थिक सहकार्यका संकेतसमेत देखिएका छन् । चीनले अमेरिकी गाईको मासु निर्यात अनुमति नवीकरण गर्ने तथा केही एआई चिप निर्यातमा सहजता दिने संकेत गरेको बताइएको छ । यसलाई व्यापार तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार