काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ चौथो स्थानमा कायम रहेका छन्। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले २४५ रेटिङ अंकसहित आफ्नो स्थान जोगाएका हुन्।
वरीयताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर रजा रहेका छन् भने दोस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या र तेस्रो स्थानमा पाकिस्तानका साइम अयुब छन्। अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा छन्।
एकदिवसीय क्रिकेटतर्फको अलराउन्डर वरीयतामा भने दीपेन्द्रले तीन स्थान सुधार गर्दै २८औँ स्थान बनाएका छन्। उनको रेटिङ अंक १५३ पुगेको छ। त्यस्तै नेपाली खेलाडी करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन्।
एकदिवसीय ब्याटिङ वरीयतामा पनि दीपेन्द्रले दुई स्थान सुधार गर्दै ९९औँ स्थान बनाएका छन् भने आसिफ शेख १३ स्थान माथि उक्लिँदै ९३औँ स्थानमा पुगेका छन्।