काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सात वर्षपछि पुनः चीन भ्रमणमा पुगेका छन् । विश्व राजनीतिमा बढ्दो शक्ति प्रतिस्पर्धाका बीच भएको यो भ्रमणलाई अमेरिका–चीन सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण कूटनीतिक घटनाका रूपमा हेरिएको छ ।
सन् २०१७ मा ट्रम्पले पहिलोपटक चीन भ्रमण गर्दा चीन विश्व शक्तिका रूपमा उदाउँदै थियो भने अहिले चीन प्रविधि, व्यापार, सैन्य शक्ति र विश्व अर्थतन्त्रमा प्रभाव विस्तार गर्दै अमेरिकाको प्रमुख प्रतिस्पर्धीका रूपमा स्थापित भइसकेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले ट्रम्पको स्वागतलाई विशेष महत्व दिएका छन् । बेइजिङस्थित चिनियाँ शीर्ष नेतृत्वको केन्द्र ‘जोङनान्हाई’ मा उच्चस्तरीय स्वागतको तयारी गरिएको छ । यसअघि पनि ट्रम्पलाई चीनले विशेष सम्मान दिएको थियो । तर यसपटकको भ्रमण केवल औपचारिक स्वागतमा सीमित नरही विश्व राजनीति, आर्थिक प्रतिस्पर्धा र सुरक्षा रणनीतिसँग प्रत्यक्ष जोडिएको विश्लेषण गरिएको छ ।
भ्रमणका क्रममा व्यापार असन्तुलन, ताइवान मुद्दा, कृत्रिम बौद्धिकता (एआई), चिप प्रविधि, साइबर सुरक्षा, इरानसँग चीनको सम्बन्ध तथा हिन्द–प्रशान्त क्षेत्रमा बढ्दो शक्ति प्रतिस्पर्धाजस्ता संवेदनशील विषयमा छलफल हुने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएको छ भने प्रविधि क्षेत्रमा पनि दुवै देशबीच प्रतिस्पर्धा तीव्र बनेको छ । अमेरिकाले चिनियाँ प्रविधि कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने र चीनले वैकल्पिक प्रविधि विकासमा तीव्र लगानी गर्ने रणनीतिले दुई देशबीच दूरी बढाएको छ ।
राष्ट्रपति सी जिनपिङले ‘नयाँ उत्पादक शक्ति’ अवधारणा अघि सार्दै कृत्रिम बौद्धिकता, रोबोटिक्स, हरित ऊर्जा र अत्याधुनिक उत्पादन प्रणालीमा ठूलो लगानी गरिरहेका छन् । चीनले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्न विद्युतीय सवारी, सौर्य ऊर्जा र डिजिटल प्रविधिमा आक्रामक रणनीति अपनाइरहेको छ । यसले चीनलाई आर्थिक रूपमा थप शक्तिशाली बनाउने सम्भावना देखिएको छ ।
विश्लेषकहरूका अनुसार ट्रम्पको यो भ्रमणले अमेरिका–चीन सम्बन्धमा केही सकारात्मक सम्भावना पनि सिर्जना गर्न सक्छ । व्यापार विवाद कम गर्ने, लगानीको वातावरण सुधार गर्ने र विश्व अर्थतन्त्रमा स्थायित्व ल्याउने विषयमा सहमति हुन सके दुवै देशलाई लाभ पुग्ने देखिन्छ । विशेषगरी विश्व बजारमा देखिएको आर्थिक अनिश्चितता कम गर्न अमेरिका र चीनबीच सहकार्य आवश्यक रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ ।
तर चुनौतीहरू पनि उत्तिकै गम्भीर रहेका छन् । ताइवान मुद्दामा चीन र अमेरिकाको धारणा पूर्ण रूपमा फरक छ । अमेरिकाले ताइवानलाई सुरक्षा सहयोग जारी राख्दै आएको छ भने चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग बताउँदै आएको छ । यही विषय भविष्यमा ठूलो द्वन्द्वको कारण बन्न सक्ने आशंका व्यक्त गरिएको छ ।
त्यसैगरी प्रविधि क्षेत्रमा अमेरिका र चीनबीचको प्रतिस्पर्धा झन् चर्किने संकेत देखिएको छ । कृत्रिम बौद्धिकता, अर्धचालक चिप र साइबर सुरक्षालाई लिएर दुवै देशबीच अविश्वास बढिरहेको छ । चीनको तीव्र आर्थिक र सैन्य विस्तारलाई अमेरिकाले आफ्नो विश्व नेतृत्वका लागि चुनौतीका रूपमा हेर्न थालेको विश्लेषण गरिएको छ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूका अनुसार ट्रम्पको चीन भ्रमणले सम्बन्ध सुधारको संकेत दिन सक्ने भए पनि गहिरिँदो रणनीतिक प्रतिस्पर्धा तत्काल अन्त्य हुने सम्भावना कम देखिएको छ । त्यसैले यो भ्रमणलाई अवसर र चुनौती दुवै मिसिएको महत्वपूर्ण कूटनीतिक घटनाका रूपमा हेरिएको छ ।