काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेटमा अमेरिकी र इजरायली जहाजको प्रवेश रोक्न नयाँ कानुन ल्याउने तयारी गरेको छ । इरानी संसद्ले तयार पारेको विधेयकमा अमेरिकी र इजरायली जहाजलाई प्रतिबन्ध लगाउने तथा अन्य विदेशी जहाजबाट शुल्क उठाउने प्रस्ताव गरिएको हो ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले संसद्को नयाँ अधिवेशन सुरु भएपछि उक्त विधेयकलाई ‘निवारक कानुन’का रूपमा अघि बढाइने बताएका छन् । उनका अनुसार यो कदम इरानको समुद्री सार्वभौमिकता सुदृढ बनाउन र क्षेत्रीय सुरक्षालाई बलियो बनाउन लक्षित छ ।
इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति र इजरायली गतिविधिलाई अस्थिरताको मुख्य कारण मान्दै आएको छ । तेहरानले पछिल्लो समय होर्मुज स्ट्रेटमा जहाज आवागमनमाथि कडाइ गर्दै आएको छ भने अमेरिकी नेतृत्वको ‘प्रोजेक्ट फ्रिडम’ अभियानलाई पनि चुनौती दिँदै आएको छ ।
होर्मुज स्ट्रेट विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हो, जहाँबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल र ग्यास ओसारपसार हुन्छ । इरान–अमेरिका तनाव बढेसँगै उक्त क्षेत्रमा सैन्य गतिविधि तीव्र बनेको छ । केही दिनअघि मात्रै इरानी र अमेरिकी सेनाबीच स्ट्रेट क्षेत्रमा छिटपुट झडप भएको समाचार सार्वजनिक भएको थियो ।
विश्लेषकहरूले इरानले प्रस्ताव गरेको नयाँ कानुन कार्यान्वयनमा आए विश्व व्यापार, ऊर्जा आपूर्ति र समुद्री सुरक्षामा गम्भीर असर पर्न सक्ने बताएका छन् । विशेषगरी तेल बजारमा थप अस्थिरता आउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।