हर्मुज जलमार्गमा इरानको नयाँ कडाइ, जहाजका लागि अनिवार्य सूचना प्रणाली लागू हुने

2.7k Shares

इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजका लागि नयाँ नियम लागू गर्ने तयारी गरेको छ । यसका लागि इरानले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए)’ नामक नयाँ नियामक निकाय गठन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उद्धृत गर्दै सेतोपाटीले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूले ‘भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ । उक्त फाराममा जहाजको नाम, पहिचान नम्बर, झण्डा बोकेको देश, गन्तव्य, कार्गो विवरण, जहाज मालिक तथा चालक दलको राष्ट्रियतासम्म खुलाउनुपर्ने उल्लेख गरिएको छ ।

पिजिएसएले हर्मुज पार गर्नुअघि सम्पूर्ण विवरण इमेलमार्फत पठाउनुपर्ने जनाएको छ । गलत वा अपूर्ण जानकारी दिए त्यसको जिम्मेवारी सम्बन्धित जहाज स्वयंले लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।

हाल हर्मुज क्षेत्रमा तनाव बढिरहेका कारण जलमार्ग लगभग बन्दजस्तै अवस्थामा रहेको जनाइएको छ । इरानले अमेरिकी, इजरायली तथा तिनका समर्थक मुलुकका जहाजलाई आवतजावतमा रोक लगाएपछि अमेरिकाले पनि त्यहाँ नाकाबन्दी गरेको समाचारमा उल्लेख छ ।

युद्ध अन्त्य गरी हर्मुज पुनः सञ्चालनमा ल्याउन इरानले अमेरिकासमक्ष प्रस्ताव राखेको भए पनि अमेरिका त्यसमा पूर्ण रूपमा सहमत नभएको बताइएको छ । अमेरिका र इरानबीच वार्ताको प्रयास भइरहेका बेला चीनले पनि युद्ध अन्त्यका लागि दबाब दिइरहेको समाचारमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार