युरोपेली १६ मुलुकसँग श्रम सम्झौताका लागि सरकारको कूटनीतिक पहल

1.4k Shares

काठमाडौं । सरकारले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन कूटनीतिक पहल सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशहरूसँग श्रम सम्झौताका लागि पहल गर्न लागिएको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयले पहल गर्दा कतिपय देशबाट जवाफ आउन ढिलाइ भएकाले अब परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइने बताए ।

उनका अनुसार हाल नेपालले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको भए पनि नेपाली श्रमिकहरू १७८ देशमा कार्यरत छन् । वैदेशिक रोजगारीको क्षेत्रमा हुने आर्थिक ठगी र श्रम शोषण नियन्त्रणका लागि सरकार सक्रिय रहेको उनले बताए ।

मन्त्री यादवले वैदेशिक रोजगारीमा जानेमध्ये करिब ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उल्लेख गर्दै महिला घरेलु श्रमिकहरू अवैध बाटोबाट विदेश जाने क्रम अझै कायम रहेको बताए । यस्तो अवस्थामा समस्या पर्दा राज्यले प्रभावकारी सहयोग गर्न कठिन हुने उनको भनाइ थियो ।

उनले युद्ध प्रभावित मुलुकहरूमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन केही ढिलाइ भएको स्वीकार गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने दाबी गरे । साथै स्थानीय तहमा नै रोजगारी सिर्जना गर्ने योजनासहित मन्त्रालय अघि बढिरहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार