एजेन्सी । डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य क्षेत्रमा सुरू गरेको ‘प्रोजेक्ट फ्रीडम’ अभियान साउदी अरेबियाले एयर स्पेस प्रयोग गर्न अनुमति नदिएपछि एक दिनमै रोकिएको खुलासा भएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो एयरस्पेस र एयरबेस प्रयोग गर्न अस्वीकार गरेपछि अमेरिका पछि हट्न बाध्य भएको हो ।
यसअघि ट्रम्पले भने इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढेकाले पाकिस्तानको आग्रहमा अभियान स्थगित गरिएको बताएका थिए । तर पछिल्लो रिपोर्टले खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूको असहमतिका कारण योजना प्रभावित भएको देखाएको छ ।
रिपोर्टअनुसार ट्रम्पले साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग छलफल गरे पनि सहमति जुट्न सकेन । अमेरिकाले दुई दिनमा तीनवटा जहाजलाई मात्रै सुरक्षित रूपमा पार गराउन सफल भएको बताइएको छ ।
होर्मुज क्षेत्रमा सैन्य अभियान सञ्चालन गर्न अमेरिकालाई साउदी अरेबिया, जोर्डन, कुवेत र ओमानजस्ता देशहरूको सहयोग आवश्यक पर्ने बताइएको छ । ती देशहरूको अनुमति बिना अमेरिकी लडाकु विमान तथा सपोर्ट एयरक्राफ्ट सञ्चालन गर्न कठिन हुने जनाइएको छ ।