काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन भएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्षमा चयन भएका हुन् ।
निवर्तमान अध्यक्ष चन्द्र ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका छन् । नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भने बिहीबारका लागि तय गरिएको छ ।
महासंघ नेपालका निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन हो, जसले उद्योग–व्यवसायको विकास, निजी क्षेत्रको हित संरक्षण र सरकारसँग समन्वय गर्ने भूमिका खेल्दै आएको छ । नयाँ नेतृत्वसँग अहिले देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, लगानी वातावरण सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको मनोबल बढाउने चुनौती रहेको विश्लेषण गरिएको छ। व्यवसायीहरूले नीति स्थिरता, कर सुधार, उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, वर्तमान आर्थिक अवस्थाले निजी क्षेत्रलाई दबाबमा राखिरहेको सन्दर्भमा महासंघको नयाँ नेतृत्वले सरकारसँग सहकार्य गर्दै नीतिगत सुधारका लागि प्रभावकारी पहल गर्ने अपेक्षा गरिएको छ । महासंघको नयाँ कार्यसमितिले आगामी कार्यकालमा उद्योग, व्यापार, लगानी र आर्थिक सुधारसँग सम्बन्धित विभिन्न नीतिगत एजेन्डालाई अगाडि बढाउने तयारी गरेको जनाएको छ ।