काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ । दिल्लीस्थित अरुण जेटली रंगशालामा भएको खेलमा दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर सहजै पूरा गर्यो ।
चेन्नईको जितमा सञ्जु सामसनले अविजित ८७ रनको उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै कार्तिक शर्माले ४१ रन बनाए भने कप्तान रुतुराज गायक्वाडले ६ र युर्बिल पटेलले १७ रन जोडे । दिल्लीका तर्फबाट अक्षर पटेल र लुङ्गी न्गिडीले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। दिल्लीका समीर रिज्बीले ४० र ट्रिस्टन स्टब्सले ३८ रन बनाए । चेन्नईका लागि नूर अहमदले २ विकेट लिए भने अकेल हुसैन, मुकेश चौधरी, गुर्जाप्नित सिंह र जेमी ओभरटनले १–१ विकेट लिए । यस जितसँगै चेन्नई अंकतालिकामा छैठौँ स्थानमा उक्लिएको छ भने दिल्ली सातौँ स्थानमा झरेको छ ।