मधेश प्रदेशको जनकपुरधाम नजिक लक्ष्मीनियाँ गाउँपालिकामा करिब २ अर्ब रुपैयाँको लगानीमा पहिलो पाँचतारे होटल निर्माण सुरु गरिएको छ। गैरआवासीय नेपाली व्यवसायी रामेश्वर साहको नेतृत्वमा ‘मिथिला हस्पिटालिटी’मार्फत यो परियोजना अघि बढाइएको हो ।
होटल करिब सवा दुई बिघा क्षेत्रफलमा निर्माण हुनेछ र यसमा १२४ आधुनिक कोठा, स्विट रुम, क्यासिनो, बैंक्वेट हल, स्वीमिङ पुल, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट लगायतका सुविधा रहनेछन् । परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
परियोजनाबाट करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ भने स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढ्ने विश्वास गरिएको छ। यसले जनकपुरलाई पर्यटन तथा वैवाहिक गन्तव्यका रूपमा विकास गर्न मद्दत पुर्याउने बताइएको छ ।
भूमिपूजन कार्यक्रममा प्रदेशका मुख्यमन्त्री र उद्योगपतिहरूले पर्यटन विकासमा यस्तो लगानी महत्वपूर्ण हुने बताएका छन् भने लगानीकर्ताको सुरक्षामा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।