काठमाडौँ । भारतका विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तयारी भइरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री एस। पावल कपुर तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमवार औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारको यो अवधिमा अहिलेसम्मको उच्चस्तरीय भ्रमण रहेको मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका खास मान्छेको रूपमा चिनिएका कपुर दक्षिण तथा मध्य एसिया पनि हेर्ने गरेका छन् ।
राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए । उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो । उनको जन्म भारतमा भएको हो । बुवा भारतीय हुन् भने आमा अमेरिकी मूलका हुन् ।