आफ्नै समर्थकहरूबाट आलोचना खेप्नु परेपछि ट्रम्प दबाबमा

1.7k Shares

काठमाण्डौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई जिजस क्राइस्टका रूपमा प्रस्तुत गरिएको विवादास्पद एआई-निर्मित तस्बिर पोस्ट गरेपछि उनी विवादमा परेका छन् । यो तस्बिरले एक किसिमको राजनीतिक र धार्मिक तरंग पैदा भएको छ ।

आइतबार उनले आफ्नै प्लेटफर्म 'ट्रुथ सोसल' मा पोस्ट गरेको उक्त तस्बिरको व्यापक आलोचना भएपछि सोमबार उनले त्यसलाई हटाएका छन् । तस्बिरमा ट्रम्पले सेतो वस्त्र लगाएका छन् । एउटा हातमा उज्यालो प्रकाश छरिरहेको गोला बोकेका छन् भने अर्को हातले एक बिरामी मानिसलाई स्पर्श गरेर उसलाई ठिक पारिरहेको देखाइएको छ । पृष्ठभूमिमा स्ट्याच्यु अफ लिबर्टी, अमेरिकी झन्डा, लडाकू विमान र सेनाहरू देखिन्छन् ।

यो तस्बिर सार्वजनिक गरेपछि त्यसविरूद्ध राजनीतिक र धार्मिक वृतबाट तीव्र प्रतिक्रियाहरू व्यक्त भएका छन् । अमेरिकाले इरानमाथि गरेको आक्रमणको पोप लियोले विरोध गरेरहेका छन् । अहिलेका पोप लियो अमेरिकी नागरिक हुन् । पोपले अमेरिका र इसराइलले इरानमा गरेको सैन्य आक्रमणलाई 'अमानवीय' भन्दै आलोचना गरेपछि ट्रम्प उनीमाथि खनिएका थिए 

रोयटर्सले ट्रम्प र पोप लियोबीचको सम्बन्ध निकै चिसिएको समयमा यो तस्बिर आएको जनाएको छ । पोप लियोले इरान युद्धको विरोध गरेपछि राष्ट्रपति ट्रम्पले उनको तीव्र आलोचना गरेका छन् । पोप लियोले ट्रम्पको आक्रमणबाट आफू 'नडराउने' र अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्ने शक्तिहरूविरूद्ध आवाज उठाइरहने बताएका छन् ।

सन् २०२४ को चुनावमा ट्रम्पलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कट्टरपन्थी धार्मिक समर्थकहरू नै यो तस्बिरबाट रूष्ट देखिएका छन् । धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै आफ्नै समर्थकहरूबाट आलोचना खेप्नु परेपछि ट्रम्प दबाबमा परेका हुन् ।

तस्बिर हटाएलगत्तै ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो बचाउ गरेका छन् । उनले भने, 'यो मलाई डाक्टरको रूपमा देखाइएको तस्बिर हो, जसले मानिसहरूलाई निको पार्छ । म साँच्चै मानिसहरूको जीवन सुधार्ने काम गर्छु ।' युनिभर्सिटी अफ मिसिगनका प्रोफेसर ब्रेन्डन म्याकमोहनले ट्रम्पको स्पष्टीकरणलाई 'अत्यधिक शंकास्पद' भन्दै उक्त तस्बिरमा प्रयोग गरिएको प्रकाश र शैली परम्परागत क्रिश्चियन कलासँग हुबहु मिलेको बताएका छन् ।

सम्बन्धित समाचार