रियल मड्रिड जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा

3.3k Shares

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियल अन्तिम चारमा प्रवेश गरेको हो ।

रियल मड्रिडका लागि गोंजालो गार्सिया, फ्रान गार्सिया र किलियन एमबाप्पेले गोल गरे । डर्टमुन्डका लागि मेक्सिमिलियन बेइयर र सर्हो गुइरासीले गोल फर्काए ।

खेलको १०औं मिनेटमा गोंजालो तथा २०औं मिनेटमा फ्रानले अग्रता दोब्बर बनाएपछि पहिलो हाफमा नै २-० को अग्रता बनाएको रियलले सोही नतिजाका साथ जित निकाल्ने संघारमा रहेका बेला इन्जुरी समयमा खेल रोमाञ्चक बनेको थियो ।

डर्टमुन्डले इन्जुरी समयको दोस्रो मिनेटमा बेइयरको गोलमार्फत एक गोल फर्कायो, तर त्यसको दुई मिनेटपछि एमबाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै रियलको अग्रता कायम राखे । 

त्यसलगत्तै इन्जुरी समयको पाँचौं मिनेटमा रियलका डेयान हुयिसेनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो । इन्जुरी समयको ८औं मिनेटमा सर्हो गुइरासीले पेनाल्टीमार्फत डर्टमुन्डका दोस्रो गोल गरेपनि त्यो पर्याप्त भने भएन ।

सम्बन्धित समाचार