काठमाडौं । लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो ।
डिसेम्बर १४ को दिन लि भरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा थियो। तर लिभरपुलले हार मानेन । कोडी गाक्पोले बराबरी गोल गरे, तर फेरि फुलहामले अग्रता लियो । त्यसपछि ८६औं मिनेटमा पोर्चुगिज स्टार डियोगो जोटाले डिफेन्डरहरूलाई छलेर शानदार गोल गर्दै लिभरपुलको हार टारेका थिए । त्यो गोललाई एन्फिल्डमा उपाधि जिते झैं खुसी मनाइयो । त्यसयता लिभरपुलको यात्राबारे त सबै जानकार छन् ।

लिभरपुलका समर्थकहरू लिगको उपाधि जितेको खुसी मनाइरहेका बेला अचानक एउटा दु:खद खबर आयो जसले सारा माहोल शोकाकुल बनायो, फुटबल जगत् स्तब्ध भयो, लिभरपुलको उपाधि यात्राका एक महत्वपूर्ण हिस्सा रहेका जोटा अब संसारमा रहेनन् । २८ वर्षकै उमेरमा संसारबाट बिदा भएका जोटाले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप, लिग कप जितेका थिए । उनले पोर्चुगलका लागि अघिल्लो महिना भएको यूएईएफए नेसन्स लिग फुटबल पनि दोस्रोपटक जिते ।

यसरी पोर्चुगलको सानो सहर गोंडोमारदेखि सुरु भएर ऐतिहासिक एन्फिल्डसम्मको उनको यात्रा स्पेनको सडकमा पुगेर टुंगिएको छ । कार दुर्घटनामा परी अल्पायूमै अस्ताएका जोटाको निधनले विश्व फुटबलमा गहिरो शोक छाएको छ, फुटबलले एउटा चम्किलो तारा नै गुमाएको छ ।